दोभाषेसँग कसरी कार्य गर्ने?
दोभाषे लिएर काम गर्नाले तपाईंलाई फरक भाषा बोल्ने मानिसहरूसँग प्रभावकारी रूपमा कुराकानी गर्न मद्दत गर्छ। दोभाषेहरू कुराकानीमा सहभागी हुँदैनन्; उनीहरू केवल एउटा पुलको रुपमा काम गर्छन्।
NAATI द्वारा प्रमाणित दोभाषेले निम्न कार्यहरु गर्छन्:
- उपलब्ध सार सक्षेंप (ब्रीफिंग) को आधारमा विषयको अनुसन्धान गरेर कार्यभारको लागि तयारी गर्छन्
- सबै कुराको सही र निष्पक्ष रूपमा अर्थ लगाइदिन्छन्
- जानकारीमा कुनै पनि थपघट वा हेरफेर गर्ने छैनन्, र राय, सल्लाह वा स्पष्टीकरण दिने छैनन्
- सटीकता सुनिश्चित गर्न आवश्यक परेमा स्पष्टीकरण लिन वा दोहोर्याउन सक्नेछन्
- मानिसहरू एकअर्कासँग कुरा गर्दाको परिस्थितिहरूको व्यवस्थापन गर्नेछन्
- सत्र चलिरहेको बेलामा छलफल गरिएका सबै कुराकानीहरू सहित, कार्यभार बारेका सबै जानकारी गोपनीय राख्नेछन्।
उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुहोस् र संलग्न सबैका लागि पेशागत अनुभव सुनिश्चित गर्न यी निर्देशनहरू पालना गर्नुहोस्।
सत्र सुरु हुनुभन्दा अघि
सही मौखिक अनुवादको माध्यम र स्थान छनौट गर्नुहोस्
दोभाषे बुक गर्दा, कुन माध्यम प्रयोग गरिनेछ र तपाईं दोभाषे कसरी सहभागी होस् भन्ने अपेक्षा गर्नुहुन्छ भन्ने कुरा पुष्टि गर्नुहोस्, र उपयुक्त उपकरण ठाउँमा भएको सुनिश्चित गर्नुहोस्। यदि तपाईं अनिश्चित हुनुहुन्छ भने, तपाईंको भाषा सेवा प्रदायक वा दोभाषेले उत्तम दृष्टिकोणको बारेमा सल्लाह दिन सक्छन्।
मौखिक अनुवादको माध्यम
क्रमिक मौखिक (Consecutive interpreting): कुराकानीको क्रममा वक्ता रोकिए पछि मात्र दोभाषेले अनुवाद गर्न थाल्छ। यो माध्यम सामान्यतया भेटघाट वा साना बैठकहरूमा प्रयोग गरिन्छ। यस्तो सत्रमा एउटा भाषामा कुराकानी गर्दा लाग्ने समय भन्दा लगभग दोब्बर समय लाग्नेछ, त्यसैले आफ्नो तालिकामा थप समयको व्यवस्था गर्नुहोस्।
समानान्तर अनुवाद (Simultaneous interpreting): सामान्यतया हेडसेट वा इन्टरप्रेटिंग बुथ जस्ता विशेष उपकरणहरू प्रयोग गरेर दोभाषेले सिधै अनुवाद गर्छन्। यो माध्यम ठूला बैठकहरू, सम्मेलनहरू वा समूहमा छलफल गर्दाका लागि उत्तम हुन्छ जहाँ तपाईंलाई सञ्चारको प्रवाह कायम राख्न आवश्यक पर्छ। यो मानसिक रूपमा कठिन कार्य भएकाले, शुद्धता कायम राख्न र थकान मुक्त हुन पालैपालो बोल्ने गरि कम्तिमा दुई जना दोभाषे राख्न सिफारिस गरिन्छ।
दोभाषे सेवा वितरण
आमनेसामने (स्थलगत वा व्यक्तिगत रूपमा): जटिल परिस्थितिहरूमा आमनेसामने भएर मौखिक अनुवाद (इन्टरप्रेटिंग) गर्नु उत्तम हुन्छ किनकि यसले शारीरिक हाउ भाउ जस्ता गैर-मौखिक संकेतहरूले गर्दा पनि बुझ्न सजिलो हुन्छ। यसको अर्थ दोभाषे तपाईंसँगै कोठामा हुनेछन्। ग्रामीण वा दुर्गम क्षेत्रहरूमा र केही भाषाहरूमा यसको उपलब्धता सीमित हुन सक्छ।
भिडियो (Video): भिडियो इन्टरप्रेटिंग आमनेसामने मौखिक अनुवाद (इन्टरप्रेटिंग) पछिको दोस्रो उत्तम सेवा हो किनकि यसमा पनि सहभागीहरूले गैर-मौखिक संकेतहरू देख्नेछन्। भिडियो इन्टरप्रेटिंग तब उपयोगी हुन्छ जब स्थलगत दोभाषेहरू उपलब्ध हुँदैनन्, विशेष गरी छोटो सूचनामा बुकिङ गर्दा वा कम स्रोत भएका भाषाहरूका लागि। भिडियो इन्टरप्रेटिंग अस्लान र मौखिक भाषाहरूको लागि उपयुक्त हुन्छ, तर भरपर्दो इन्टरनेट र उचित उपकरण चाहिन्छ।
टेलिफोन: फोन इन्टरप्रेटिंग भनेको मौखिक अनुवादको सबैभन्दा सजिलै उपलब्ध सेवा हो। यो छोटो, सजिलै बुझिने कुराकानीको लागि सबैभन्दा उत्तम हुन्छ।
सही दोभाषे छान्नुहोस्
- दोभाषे NAATI द्वारा प्रमाणित (NAATI-certified) भएको सुनिश्चित गर्नुहोस्। तपाईंले उनीहरूको प्रमाणित व्यवसायी नम्बर (CPN) प्रयोग गरेर NAATI प्रमाणीकरण जाँच गर्न सक्नुहुन्छ।
- अत्यन्तै सहज लागे पनि परिवारका सदस्यहरू वा साथीहरूलाई दोभाषेको रूपमा प्रयोग नगर्नुहोस्। उनीहरूमा निष्पक्षता, तालिम वा भाषा सम्बन्धी सीपको कमी हुन सक्छ। यसले गोपनीयता, सटीकता र व्यावसायिकतालाई जोखिममा पार्न सक्छ।
- दोभाषेले कार्यभारको आवश्यकताहरू पूरा गर्न सक्छन् कि सक्दैनन् सुनिश्चित गर्नुहोस्। के तपाईंलाई पुरुष/महिला दोभाषे चाहिन्छ? के दोभाषेहरू स्वास्थ्य वा कानुनी जस्ता विशेष क्षेत्रमा विशेषज्ञता हासिल गरेका हुनुपर्छ?
दोभाषेलाई संक्षिप्त जानकारी दिनुहोस्
सम्भव भएसम्म, कार्यभार दिनु अघि दोभाषेलाई संक्षिप्त जानकारी दिनुहोस्। संक्षिप्त जानकारी (ब्रीफिंग) भनेको बैठकको उद्देश्य, उपस्थित हुने व्यक्तिहरु र दोभाषेले जान्नुपर्ने कुनै पनि प्रमुख विवरणहरू साझा गर्नु हो। दोभाषेसँग पहिले नै छोटो कुराकानी गर्दा अवरोध कम हुने र सहज सञ्चार हुन सक्छ।
संक्षिप्त जानकारी (ब्रीफिंग) मा निम्न समावेश हुन सक्छ:
- विषय, लक्ष्य र सहभागीहरूको पृष्ठभूमि।
- कुनै पनि प्राविधिक भाषा, विशेष शब्दावली वा विशिष्ट शब्दजाल बारे सल्लाह दिनुहोस् ताकि दोभाषेले यसलाई सही रूपमा अनुवाद गर्न तयारी पुगोस्।
- भेटघाट भावनात्मक, प्राविधिक वा संवेदनशील कस्तो हुनेछ भन्ने कुरा उनीहरूलाई थाहा दिनुहोस्।
यदि कार्यभार जटिल प्रकारको छ भने, सम्भव भएसम्म दोभाषेलाई तयारी गर्न र अनुसन्धान गर्न पर्याप्त सूचना दिनुहोस्। यो तयारीले सही अनुवाद सुनिश्चित गर्न मद्दत गर्दछ र सत्र चलेको बेलामा दोभाषेलाई कम भार पर्छ।
व्यवस्थापन योजना
आमनेसामने मौखिक अनुवाद (इन्टरप्रेटिंग) गर्नको लागि तपाईं, दोभाषे र सेवाग्राही एउटै स्थानमा भौतिक रूपमा उपस्थित हुन आवश्यक छ। बिरामी, दोभाषे र चिकित्सक सबै संगै त्रिकोण आकारमा बस्ने व्यवस्था मिलाउनुहोस्। यसले स्पष्ट सञ्चारलाई बढावा दिन्छ र सबैलाई समावेश गरिएको सुनिश्चित गर्दछ।
अस्लान मौखिक अनुवाद (Auslan interpreting) को लागि: दोभाषे स्वास्थ्यकर्मीको छेउमा र बिरामीको विपरीत दिशामा बस्नु पर्छ वा उभिनु पर्छ। यसले बहिरा बिरामीलाई वक्तासँग आँखाको सम्पर्क कायम राख्न र शरीरको भाषा अवलोकन गर्न सक्षम बनाउँछ। लामो सत्रहरूको लागि, दुई दोभाषेलाई पालैपालो कार्य गराउन सकिन्छ।
टेलिफोन र भिडियो सम्मेलन (Telephone and videoconferencing) ले लचिलोपन प्रदान गर्दछ – दोभाषे वा सेवाग्राही तपाईंसंगै उपस्थित हुन सक्छन्, वा प्रत्येक व्यक्ति छुट्टाछुट्टै स्थानमा हुन सक्छन्। सत्र सुरु हुनुभन्दा पहिले प्रविधिले राम्रोसँग काम गरिरहेको छ भनी सुनिश्चित गर्नुहोस्।
मौखिक अनुवाद (इन्टरप्रेटिंग) को लागि थप समय छुट्याउन नबिर्सनुहोस्। कुराकानीहरू एउटै भाषामा भन्दा दुइ वटा भाषामा बोल्दा बढी समय लाग्नेछ।
सत्र चलिरहेको बेलामा
के के गर्ने
- दोभाषे र उनीहरूको भूमिका बारे संक्षिप्त जानकारी गराइएको सुनिश्चित गर्नुहोस्। तपाईं एउटा सामान्य वाक्यबाट कुराकानी सुरु गर्न सक्नुहुन्छ जस्तै: “उहाँ हाम्रो दोभाषे हुनुहुन्छ, उहाँले आज हामीलाई कुराकानी गर्न मद्दत गर्नुहुने छ। हामीले बोल्ने सबै कुराको सही र गोपनीय रूपमा मौखिक अनुवाद गर्नुहुने छ।” सहभागीहरूलाई सम्झाउनुहोस् कि दोभाषेले प्राकृतिक रुपमा कुराकानीको प्रवाह कायम राख्न पहिलो पुरुष एकवचन/बहुवचनमा (अर्थात् “म”, “हामी” भनेर) बोल्नु हुनेछ।
- बोल्दा दोभाषेसँग नभई सिधै अर्को व्यक्तिसँग कुरा गर्नुहोस्। “तपाईं सन्चै हुनुहुन्छ?” भन्नुहोस्, “उहाँ सन्चै हुनुहुन्छ कि हुनुहुन्न भनेर सोध्नुहोस्” भन्ने होइन। सांस्कृतिक रूपमा अनुपयुक्त नभएसम्म अर्को व्यक्तिसँग आँखामा आँखा मिलाएर संवाद गर्नुहोस्।
- स्पष्ट र सरल भाषा प्रयोग गर्नुहोस्। बोलीचालीको भाषा, शब्दजाल, परिवर्णी शब्दहरू वा जटिल शब्दहरूको प्रयोग नगर्नुहोस्। मौखिक अनुवाद (इन्टरप्रेटिंग) को लागि समय दिन नियमित रूपमा रोकिँदै बोल्नुहोस्।
- अर्को वाक्य बोल्नु भन्दा अघि दोभाषेलाई अनुवाद सक्न दिनुहोस्। यसले सटीकता सुनिश्चित गर्दछ र जानकारीको भारलाई रोक्दछ।
- धैर्य गर्नुहोस्। केही भाषाहरूमा एउटै अर्थ लगाउन एउटा भन्दा बढी वा कम शब्दहरू प्रयोग गर्नुपर्ने हुनसक्छ। मौखिक अनुवाद (इन्टरप्रेटिंग) गर्दा केही समय मौनता हुनु सामान्य हुन्छ।
- आवश्यकता अनुसार स्पष्ट पार्नुहोस्। यदि केहि अस्पष्ट देखिन्छ भने, दोभाषेलाई दोहोर्याउन वा व्याख्या गरिदिन भन्नुहोस्। यदि केहि स्पष्ट पार्नु पर्ने भएमा दोभाषेलाई बोल्न प्रोत्साहित गर्नुहोस्। यदि दोभाषेलाई स्पष्ट पार्नु पर्ने भएमा, उनीहरूले सोधेको कुरा अर्को व्यक्तिलाई बताउन भन्नुहोस्।
निम्न कुरा नगर्नुहोस्
- बोल्दा बोल्दै बीचमा दोभाषे वा अन्य व्यक्तिलाई अवरोध नगर्नुहोस्। अवरोधहरूले भ्रम सिर्जना गर्न वा गलत जानकारी दिन सक्छ।
- दोभाषेसँग राय वा सल्लाह नमाग्नुहोस्। उनीहरूको भूमिका मौखिक अनुवाद (इन्टरप्रेटिंग) गर्ने हो, मध्यस्थता गर्ने, वकालत गर्ने वा व्यक्तिगत विचार दिने होइन।
- दोभाषेसँग खासखुस नगर्नुहोस्। दोभाषेले तपाईंले भन्नुभएको सबै कुराको अर्थ लगाउनेछन्, त्यसैले तपाईंले अर्को भाषामा अनुवाद गर्न नचाहेको कुरा नबोल्नुहोस्।
सत्र समाप्त भएपछि
- आवश्यक परेमा सत्रपछि समिक्षा गर्नुहोस्। कुनै समस्या आए/नआएको वा प्रतिक्रिया आवश्यक परे/नपरेको दोभाषेलाई सोध्नुहोस्। सुधारको लागि सुझावहरू खुला रुपमा स्वीकार गर्नुहोस्। दोभाषेहरूले धेरै पेशाकर्मीहरूसँग काम गर्छन् र भविष्यका सत्रहरूमा सञ्चारमा सुधार गर्न उपयोगी सल्लाह प्रदान गर्न सक्छन्।
- गोपनीयता कायम राख्नुहोस्। कुनै पनि प्रत्यक्ष कुराकानीलाई जस्तै अनुवाद गरिएका सत्रहरूलाई पनि उस्तै व्यवहार गर्नुहोस्। साझा गरिएका सबै जानकारी गोपनीय रहन्छन्।
थप स्रोतसाधनहरू
दोभाषेहरूसँग काम गर्ने बारे थप जानकारीको लागि, यहाँ हेर्नुहोस्: